धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण शनिवारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ ।
‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो । महोत्सवको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका प्रचुर सम्भावनाहरूलाई पहिल्याएर आर्थिक विकास र समाज परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।
महोत्सव आयोजना गर्न तीन करोड लागत लाग्ने र १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै, यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी ५ सय ३१ वटा स्टल रहेका छन् । समृद्ध सुदूरपश्चिम बनाउने अभियान अन्तर्गत विसं २०६३ साल यो महोत्सव पर्वका रूपमा आयोजना हुँदै आएको छ । रासस
प्रतिक्रिया