भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनुभएको छ ।
भैरहवामा विहिवारदेखि सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएकाले व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो ।
“निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ”, पौडेलले भन्नुभयो । यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने उहाँले जिकिर गर्नुभयो ।
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शङ्का नगर्न आग्रह गर्नुभयो । अर्को टर्मिनल भवन निर्माणको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
भैरहवामा आगामी पुस १ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन कार्यक्रममा भैरहवाको देवकोटा चोकदेखि बाजागाजासहित विभिन्न सांस्कृतिक झाँकी निकालिएको थियो । रासस
प्रतिक्रिया