काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउनुभएको छ ।
मन्त्रालयद्वारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय दिवसका अवसरमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘स्टार्ट अप’ कार्यक्रमलाई लोकप्रिय बनाउन निजीक्षेत्र र बैंक तथा वित्तिय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।
मन्त्री भण्डारीले बैंक तथा वित्तिय संस्थालाई ‘स्टार्ट अप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन आग्रह गर्नुभयो ।मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाइ थियो ।
उद्योग मन्त्रालयसँग सम्बन्धित ऐन, नियम र कानुन लामो समयदेखि संसद् र संसदिय समितिमा अड्किएको अवस्था रहेको उल्लेख गर्दै मन्त्री भण्डारीलेएउटा मन्त्रालयको कानुनले अर्को मन्त्रालय नचिन्ने वातावरण हटाउन सरकार नीतिगत रूपमै लागेको जानकारी गराउनुभयो ।
शिक्षा र रोजगारीका लागि विदेशिएका युवालाई यथेष्ट सहुलियत दिएर स्वदेश फर्काउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले निजीक्षेत्रको उत्तिकै सहयोगको खाँचो औँल्याउनुभयो ।
रूग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँगको सहकार्यमा आयोग बनाएर आवश्यक रणनीति बनाउन सरकारले छलफल थालेको उहाँको भनाइ छ । रासस
प्रतिक्रिया