

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको उहाँले जानकारी गराउँनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बिहिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकोमा खुसी व्यक्त गर्नुभयो ।
सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।”
प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाउनुभयो । निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया