logo
बिहीबार, २६ भाद्र २०८२

तीन दिन बर्षा र बाढीको खतरा ! सतर्कता अपनाउन इप्पानको आग्रह

तीन दिन बर्षा र बाढीको खतरा ! सतर्कता अपनाउन इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले देशका सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरुप सतर्कता अपनाउन आग्रह गरेको हो ।

इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।” पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ ।

पूर्वी नेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । साउन ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौँ उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुने र साउन ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च हुने इप्पानको विज्ञप्तिमा भनिएको छ ।

बर्षा र बाढीका वारेमा विज्ञप्तिमा भनिएको छ, “यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ ।”

साथै पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना रहेको छ । त्यस्तै, महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि साउन ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ ।

मौसमसम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुलाई विपदबाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ । रासस

ताजा अपडेट
TOP