

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधानसभाद्वारा जारी संविधानलाई सुदृढ बनाउने र राजनीतिक उपलब्धि उल्टयाउनेबीच लडाइँ चलिरहेको बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको दुर्गानारायण ढकालको ‘समाजवादी दर्पणको रुपरेखा’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै उहाँले भन्नुभयो, “संविधानका मूलभूतः मान्यतालाई इमान्दारिताका साथ पालना गर्ने र संविधानलाई उल्ट्याउने र त्यसलाई फेरि प्रतिक्रियावादी अनुकुल बनाउनेबीच सङ्घर्ष चलिराखेको छ ।’
आफूले सरकारको नेतृत्व गरेको समयमा नीति कार्यक्रम तथा बजेटमार्फत मुलुकलाई समाजवादी यात्रामा अघि बढाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उक्त प्रयासलाई जनतासमक्ष लैजान बुद्धिजीविलाई आग्रह गर्नुभयो ।
“पहिलोपटक सरकारको नेतृत्व गर्दा गरिब किसानको ऋण एकैसाथ मिनाह गरिएको थियो । पूर्व-पश्चिम लोकमार्गदेखि उत्तर-दक्षिण कोरिडोर भौतिक पूर्वाधारद्वारा राष्ट्रिय एकतालाई सुदृढ गर्नेकुरा देशलाई समाजवादतिर लैजाने प्रयास थियो”, उहाँले भन्नुभयो, “अहिले त्यो व्यवहारतः कार्यान्वयनको चरणमा छ । तर हाम्रा बुद्धिजिवीले न त्यसलाई अन्तरनिहित रूपमा बुझ्न चाहन्छन् न इमानदारिताका साथ जनतालाई भन्न चाहन्छन् ।”
समाजवादको मुख्य तगारो दलाल पुँजीवाद भएको जिकिर गर्दै अध्यक्ष दाहालले अहिले त्यस प्रवृत्तिविरुद्ध सङ्घर्ष जारी रहेको बताउनुभयो ।
प्रतिक्रिया